आमा ! अब मेरो अंगको के दोष ? ‘अबदेखि आए भने हँसियाले च्वाट्ट काटिदिन्छु …..

  • जया ‌ओझा

नियतिलाई मञ्जुर रहेनछ। मेरो शारीरिक छनोटमा प्रकृतिले चुनौती दिन थाल्यो। कोमल माधुर्यतालाई छिचोलेर स्वर थोत्रो हुन थाल्यो। ओठमाथि नपत्याउँदो तवरले हल्का झुसिला रौँका धर्साहरू देखिन थाले।

.

ममा आएको परिवर्तन र दाजु भाइमा आएको परिवर्तन उस्तै लाग्थ्यो। उनीहरूलाई हेर्दै आफूलाई हेर्थें। आफैँदेखि रिस उठ्थ्यो। हात भित्तामा ठोक्थेँ। रिसले ओठमाथिको रौँ भुतभुते खरानी लाउँदै उखेल्थेँ। यसले गर्दा अरूसँग बोल्न मन लाग्दैनथ्यो। अरूको अघि पर्दा हातले ओठ छोप्थेँ।

स्कुलमा साथीहरूले जिस्क्याउँथे। बोल्यो भने गिज्याउँथे। ओठमाथिको रौँ तान्न खोज्थे।

एक दिन स्कुलको एउटा दाइले मलाई बाटो छेक्यो। मेरो लुगाभित्रबाट हात पसाउन खोज्दै कहिले कहाँ, कहिले कहाँ लैजाने गर्न थाल्यो। अरू सबै हाँस्दै मज्जा लिइरहेका थिए। मैले उसको हात पन्छाउन सकिनँ। कर्‍याप्प टोकिदिएँ। मेरो मुखभरि रगत लत्पत्तियो। ऊ रक्ताम्य।

बाटो छेकेर बसेकाहरूले मलाई बाटो छोडिदिए। ओठको रगत बाहुलाले पुछ्दै त्यहाँबाट हिँडेँ। ढुङ्गा, मुडा, लठ्ठी, टोक्नु, चिमोट्नु, लुछ्नु, कोपार्नु प्रतिकार थियो मेरो।

.

तुसारो र जाडोले कठ्याङग्रेर रूखमा चराका बचेराहरू चिँचिँ चिरबिर गरिरहेका थिए। चौरमा बसेर उखु दाँतले ताछ्दै तिनीहरूलाई हेरिरहेकी थिएँ। अरू विद्यार्थीहरू चौरमा उफ्रिरहेका थिए। मभन्दा माथि कक्षाका पढ्ने दिदीहरू भने मलाई हेरेर हाँसिरहेका थिए।

एउटीले भन्दै थिई, ‘न जिस्का त्यसले त मार्छे।’

अर्की घैँटी उक्सिँदै थिई, ‘हाम्रो हातमा चाहिँ दही जम्या छ र?’

नदेखेझैँ गरी त्यहाँबाट उठेर अन्तै गएँ। अर्कीचाहिँ मलाई जिब्रो यति लामो निकाल्दै जिस्क्याउन थाली। ऊ ज्यादै ठूली थिई। मोटो शरीर थियो। मलाई एकपल्ट समाउन भ्याई भने कर्‍याककुरूक पार्न सक्थी। त्यसैले अलि डराएकी थिएँ। त्यसपछिका दिनहरूमा मेरो लचिलोपनले उसले मलाई बारम्बार भेटमा जिस्क्याउन थालेकी थिई। जिस्क्याउँछे भनेर बाटोमा देखे पनि लुकेर, छलेर हिँड्ने गर्थें।

.

कक्षाको घण्टी लाग्नुअघि सबै लाइनमा बसेर राष्ट्रिय गान गाइरहेका थिए। म पनि लाइनमा थिएँ। त्यस दिन पनि त्यो दिदीले त्यसरी नै लामो जिब्रो निकालेर जिस्क्याई। मलाई सहिसक्नु भएन। रिसले हुत्तिँदै जाँदा उसको जिब्रो लुछ्न भ्याएँ। ऊ रन्थनिई। अरूले मलाई समातेर ताने।

एक त मप्रति सहानुभूति राख्ने काका थिएनन्। त्यसमा पनि अरूको भनाइ सहनुपरेको, के बाँकी राख्थे? मलाई सजाय दिएमा अरू विद्यार्थीको अगाडि उनको शान बढ्ने थियो। मलाई सिस्नो पानी लगाएर त्यो दिनभरि स्टोर रुममा थुनिदिए। दिनभरि स्टोरमा सडेको आलुझैँ रहिरहेँ।

बेलुका आमाले घाउमा मलम लगाउनुभयो, ‘अरूले आफूलाई हेला गरी जिस्क्याए भने भगवानको नजर पर्छ। जे सजाय दिनुपर्छ, उनैले दिन्छन्।’
.
‘खै भगवान्? मलाई अरूले जिस्क्याउँदा किन नआ’को त? काकाले पिट्दा किन नआ’को त? तपाईंले नै राम्रो नबनाएर त हो नि सबैले हेपेका। दिदीजस्तो राम्रो बनाउनु पथ्र्यो नि। किन नबनाको त?’ आमालाई गुनासो गर्थें।

अर्कोतिर उनको विश्वास र मेरो शरीरको परिवर्तनबीच फाटो बढिरहेको थियो। यस कुराले झन् उहाँलाई दुखी बनाउँथ्यो।

मेरो अगाडि बनावटी हँसिलो अनुहार पार्नुहुन्थ्यो, ‘कसले भन्यो र तिमी राम्री छैनौ? तिमी राम्री छौ।’

’तपाईं झुट्टो बोल्नुहुन्छ। म राम्री छैन। अरूजस्तो छैन। अरूभन्दा फरक छु। सबैले बिल्ला गर्छन्। स्कुल पनि जान्नँ।’

‘स्कुल नगएर हुन्छ? जानुपर्छ। पढेपछि पो सबैले माया गर्छन् त। पढेका मान्छेलाई हेप्दा पनि हेप्दैनन्,’ आमा मनाउन खोज्नुहुन्थ्यो।

‘मलाई पनि माया गर्छन् र?’

आमासँग पनि उत्तर थिएन सायद। झुठो आशा भए पनि दिनुहुन्थ्यो। आमाको झुठो आश्वासनले एकै छिन सान्त्वना मिल्थ्यो।

.

‘तिमीलाई भित्री मनले के गरूँजस्तो लाग्छ? कोजस्तो बनूँजस्तो लाग्छ?’ आमा गम्भीर भएर सोध्नुहुन्थ्यो।

‘तपाईंजस्तै बन्न मन लाग्छ,’ उत्साहपूर्वक आमाको मुहार हेर्थें।

उहाँ मेरो शरीरको अङ्गमा नियाल्नुहुन्थ्यो, ‘मैले यसलाई के परिचय दिने? हरे शिव! कुन दिन मैले पाप गरेँछु। मेरो पापको शिकार यो भइरा’छे। धिक्कार! मलाई।’

बाउचाहिँ कहाँ हो? मरे कि बाँच्ने हो अत्तोपत्तो थिएन। देश बनाउन हिँडेका उनले घर बनाउन सकेका थिएनन्। घर अलपत्र थियो। परिवार अलपत्र थियौँ। हजुरबाउले केही गल्तीमा पनि आमालाई दुई–चार कुरा सुनाउँथे। काकी प्याच्चप्याच्च वचन रोपिरहन्थिन्। काकाको मर्यादाको के कुरा गर्नु?

.

त्यो रात। राम्रोसँग याद छ। पानी परिरहेको थियो। जस्ताको छानो बजेर बाहिरको आवाज सुन्न पनि मुस्किल परिरहेको थियो। झ्यालबाट बाहिर निकालेर हात थापेर मुसलधारे पानी परेको हेरिरहेकी थिएँ। आमाको ओछ्यानबाट केही भाँडा बजेको आवाज मेरो कानमा पर्‍यो।

आमालाई बोलाउँदै उहाँको कोठामा पसेँ। काका फुत्त ढोकाबाट निस्केर आनो कोठातिर गए। आमालाई हेरेँ, उहाँ स्यालको पञ्जाबाट बचेको कुखुराझैं देखिनुभएको थियो।

सोधेँ, ‘ती काका यति राति यहाँ किन आ’का ?’

आमा केही बोल्नुभएन। मैले उहाँको पीडाको खास कारण राम्रोसँग बुझ्न सकेकी थिइनँ। काकाको आगमनले आमालाई पक्कै नराम्रो लागेको हुनुपर्छ भन्ने बुझेकी थिएँ।

ओच्छ्यानमा बसेँ, ‘अबदेखि आए भने हँसियाले च्वाट्ट काटिदिन्छु।’

त्यो दिनदेखि आमासँगै सुत्न थालेँ। त्यो मेरो काकाप्रतिको प्रतिकार थियो। सबैसँग प्रतिकार गर्थें। हो प्रतिकार हरेक ठाउँमा गर्थें।

यतिसम्म कि अरूको सुन्दरतामा पनि प्रतिकार गर्न मन लाग्थ्यो। साथीहरूको सुन्दरता देखेर जलन हुन्थ्यो। संसारको सबै सुन्दर चिजहरू भताभुङ्ग बनाइदिऊँजस्तो लाग्थ्यो।

.

गाउँमा प्रायजसो बिहे व्रतबन्ध भइरहन्थ्यो। हजुरआमालाई माल गाउन र रत्यौली नाच्न मन लाग्थ्यो। रत्यौली हेर्न गएका मिरा र रश्मी दिदीलाई लिने बहनामा हजुरआमा जानुहुन्थ्यो। उनको पछिपछि लागेर जान्थेँ म। उनलाई गाउँका अरू आइमाईहरूले जसरी पनि नचाउँथे।

सबैले भन्थे, ‘तपाईं नभएको रत्यौली के रत्यौली?’

हजुरआमा मारुनी बनेर कम्मर मर्काईमर्काई नाच्थिन्। जुँगा चलाएझैँ हजुरबाउको नक्कल गरी सबैलाई हँसाउँथिन्। उनको हाउभाउले पेट मिचीमिची हाँस्थे अरू। उनी त्यो रत्यौलीको रौनक हुन्थिन्।

उनी जुहारी खेल्न पनि त्यति नै सिपालु थिइन्। सुरिलो स्वर थियो उनको। मीठो भाका गाउँथिन्-
खान्न मत अमिलो मोइ पनि, जान्न घर चाहिँदैन पोइ पनि।
यहाँ बसेर दुईटा गीत गाउँला, भरे गाली गरेमा काँ जाउँला।

गाउँका जुहारी खेल्न कहलिएका ठिटाहरूले उनी सामु हार मान्थे। रत्यौलीको महारानी नै मान्थे।

हजुरआमा मिरा र रश्मी दिदीलाई फकाउँथिन्, ‘रत्यौलीमा हजुरआमाले गाएर नाच्नु भा’छैन भन है।’

.

मिरा र रश्मी दिदी घरमा आएपछि हजुरबाउलाई त्यसै भन्थे। तर, हजुरआमासँग रिस उठेको बेलामा हजुरबाउलाई कुरा लगाइदिन्थे। हजुरबाउ हजुरआमालाई लात्ताले नै हान्थे। चुटाइले केही दिन हजुरआमा कक्रेर हिँड्थिन्। तर, गाउँमा रत्यौली हुनेबित्तिकै नाच्न पुगिहाल्थिन्।

हजुरआमालाई चाडपर्वमा त्यत्तिकै सौख थियो। घरमा प्राय सबै चाडपर्वहरू राम्रोसँग मनाउँथे। विशेष तीज र आमा खुवाउने औँसी मेरी हजुरआमालाई औधी मन पथ्र्यो। तीजमा त झन् गीत गाएर नाच्दै दिन रात कटाउँथिन्। हजुरबाउ पनि तीज र औँसीमा उनलाई रोक्न सक्दैनथे। त्यसैले सायद हजुरआमाले नाच्ने गाउने धोको तीजमा पुर्‍याउँथिन्।

मलाई पनि अरू चाड–पर्वभन्दा तीजको रमझम रमाइलो लाग्थ्यो। हजुरआमाको हात पनि त्यतिकै मीठो थियो। उनी जे पकाए पनि स्वादिष्ट बनाउँथिन्। विशेष गरी मध्यराती उठेर खीर र तारेको आलु खान रमाइलो लाग्थ्यो। दर खानको लागि कहिलेकाहीँ नसुती भए पनि जागा बस्थेँ।

वल्ला घर पल्ला घरमा दर साटफेर गर्ने, खाने रमाइलो चलन। दसैँ आएजस्तै लाग्थ्यो। त्यसपटक पनि तल्ला घर, पल्लाघरमा दर खान उठेको हल्लीखल्ली आवाज थियो।

भान्सा घरमा हजुरआमाले कर गरी गरी मिरालाई दर खान दिँदै थिइन्। हजुरबाउ, काका, काकी, आमा रश्मी दिदी पनि एकातिर बसेर खाइरहेका थिए। गएर एक छेउमा बसेँ।
.
’ल, किन उठेर आ? जा सुत्न। भोलि दाजुभाइसँगै खालिस्,’ हजुरआमा भन्दै थिइन्।

उनको कुरा मलाई मन परेन, ‘मिराले चाहिँ अहिले खाने?’

मेरो कुरा सकिन नपाई काकी कराइन्, ‘ऊ त पानी नि नखाई तीजको बर्त बस्छे।’

‘म नि बर्त बस्छु नि,’ मैले कर गरेँ।

रश्मी दिदी रिसाइन्, ‘मेरो सट्टा तँ बस्। यस्ता जाबो बर्त बस्न नि रहर गर्छे।’

‘अँ, उसले बर्त बसेर तैँले राम्रो माया गर्ने बूढो पाउँछेस् होला?’ हजुर आमाले रश्मी दिदीलाई गाली गरिन्।

‘अरू बस्या देख्दा रहर गर्‍या होली? उमेर पुग्या छँदै छ। बस्छु भन्छे भने बस्न दिँदा हुन्न र?’ आमाले पनि अनुरोध गर्नुभयो। कोही बोलेनन्।

आमा पनि बाउको लागि बर्त बस्दै हुनुहुन्थ्यो। म पनि नुवाइधुवाइ गरी त्यो वर्षको पहिलो बर्त बसेँ। हातभरि चुरा थिए। कपालमा रातो धागो। चोलो खुब टल्किने थियो। जरी भएको। तर, मभन्दा ठूलो। हत्केलाले बाहुला च्यापेर ऐनाअघि उभिएकी थिएँ। यसो भनौँ आफैँलाई हेरिरहेकी थिएँ।

तर, के? मलाई नै थाहा थिएन। सायद केही कमीले चिच्याउँदै जिस्क्याइरहेको थियो मलाई। दिदी र बहिनीतिर हेरेँ। आनो जिउमा टपक्क मिलेको लुगामा फर्‍याकफुरुक हुँदै मुखतिर केके पोत्न थालेका थिए। आमा आएर बाहुला पट्याइदिनुभयो, ‘मेरो बिहेको बाहिरी चोलो यो।’

‘आमा मलाई नि दिदी र बहिनीको जस्तो चोलो ल्याइदिनुस् न ल,’ मेरो नजर उनीहरूको लुगामा नै थियो।

.

त्यहाँ लुगा मिलेको थियो या जिउ। मेरा लोभिएका आँखामा आमा गाजल लगाइदिँदै हुनुहुन्थ्यो।

‘अर्को तीजसम्म ल्याइदिउँला नि है। यसमा तिमी राम्री देखिएकी छौ।’

आमाले राम्री भनेपछि लाग्यो म राम्री नै छु। हेरेँ ऐनामा। ऐनाले झुटो बोलेको हो या आमाले।

आमाको नजरबाट आफूलाई आनै छातीमा हेरेँ, ‘आमा ! मेरो यहाँ किन नआएको? अस्ति नै ठूली भएपछि आउँछ भन्या हैन?’

लाग्छ– आमालाई अब दराजको लुगा पट्याउन हतार भएको छ। दिदी बहिनी गलल हाँस्दै मटानबाट तलतिर गए। हजुरआमा आँगनबाट बोलाउँदै हुनुहुन्थ्यो। म उभिइरहेकी थिएँ।

आमाले मेरो चोलीको तुना फुकाएर फेरि लगाइदिन थाल्नुभयो, ‘यसरी तुना माथि फर्काएर बाँध्नुहुँदैन भन्या हैन?’

आमाको निधारमा खुम्चिएका केही धर्साले गर्दा लाग्यो मैले ठूलै गल्ती गरेँछु, ‘किन आमा?’ मैले सोधेँ।

‘शत्रु ठाडा हुन्छन्।’

शत्रु थाहा हुन पहिले मित्रु थाहा हुनुपथ्र्यो, मलाई मेरा मित्रुहरूको याद आयो।  फुर्के फूल, बकाइनोको रूख, दर्शन ढुङ्गा, घरमाथिको डाँडा, औँला भाँचेर गन्दै थिएँ म।

‘शत्रु को हो आमा?’ मैले सोधेकी थिएँ।

‘त्यति पनि थाहा छैन?’

‘थाहा छैन के गरूँ?’

‘ठूली भए’सी थाहा पाउँछेस्।’

कहिले भन्नुहुन्छ, ठूली भइस्। कहिले भन्नुहुन्छ ठूली भएकी छैनस्। कति कुरा आमाले सबै ठूलोलाई थाँती राखिदिनुहुन्छ। कति कुरा ठूली भइस् भनेर मनाउनुहुन्छ। म अन्यौलमा थिएँ।

दिउँसो सबैजना मन्दिर जान तयार भएका थिए। म पनि तयार थिएँ। हजुरआमा मलाई मन्दिर लैजान तयार थिइन्।

हजुरबाउ रिसाए, ‘यस जैरीलाई किन लैजानुपर्‍यो? पर्दैन लैजान।’

हजुरबाउका अगाडि हजुरआमाको केही जोड चल्दैनथ्यो। उनी त्यति बहस गर्दिनथिन्, गरिनन् पनि।

आमाले पनि केही भन्नुभएन। सायद उहाँलाई थाहा थियो बोल्नुको अर्थ छैन। मैले पाइला पछाडि हटाएँ। आमा मलाई फर्कीफर्की हेर्दै जानुभयो। मेरा आँखाभित्रको आँसु बाहिर छताछुल्ल हुनुपर्नेमा आँखाभित्र नै सुक्यो।
.
मनमा प्रश्न तेर्सिंदै थियो, ‘मलाई किन मन्दिर जान नदिएका होलान्? अपवित्र छु र? भगवानले मलाई नआइजो भनेको हैन होला नि?’

जवाफ कसले दिन्छ त ? जसले दिन्छ– सोध्न पछि पर्ने थिइनँ। नराम्रो हुनुमा मेरो के दोष ? मेरो नियति यस्तै रहेछ भनी नियतिले गरेको अन्यायलाई सहेर चित्त बुझाउन सकिनँ। आत्माले आफैँप्रति कठोर बनाइरहन सकेन।

जाने इच्छा भए पनि हजुरबाउको डर थियो। अन्तरमनका इच्छाहरूलाई कुँजो गरेकी थिएँ। मन गह्रौँ। दिल र दिमागको द्वन्द्व।

आखिर मेरा कदमहरू मन्दिरतिर बढे।

(आज सार्वजनिक जया ओझाको उपन्यास ‘आवरण’को अंश। पुस्तकलाई शिखा बुक्सले प्रकाशन गरेको हो।)

तपाईंको प्रतिकृयाहरू